
नेपालगन्ज ः लुम्बिनी प्रदेश सभा, सार्वजनिक लेखा समितिका सभापति माया पुनले महिलाहरु आफै सक्षम हुनका लागि कुनै न कुनै कला हुनुपर्ने बताउनु भएको छ । हातमा कला र सिप भएमा महिलाहरु कहिल्यै पछाडी नपर्ने उहाँको भनाई छ । नेपाल आदीवासी जनजाति महासंघ नेपालगन्ज उपमहानगर समितिसँगको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जले दुई चरणमा सञ्चालन गरेको ३० दिने झोला बनाउने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका सांसद समेत रहनुभएका सार्वजनिक लेखा समितिका सभापति पुनले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामीले आफुले आफैलाई सक्षम बनाउनुपर्छ ।’
सांसद पुनकै पहलमा विनियोजित १० लाख रुपैयाँ बराबरको बजेटबाट आदिवासी जनजाती महिलाहरुलाई उक्त तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्णबहादुर बिष्टले सांसद माया पुनको अग्रसरतामा विनियोजित बजेटबाट झोला बनाउने तालिम सञ्चालन गर्न सम्भव भएको बताउनुभयो । ‘यो तालिममा माननीय माया पुनको महत्वपूर्ण योगदान छ, उहाँकै अग्रसरतामा बजेट विनियोजन भएर तपाईहरुले तालिम लिन पाउनु भएको हो,’ निमित्त कार्यालय प्रमुख बिष्टले तालिमका सहभागीलाई भन्नुभयो । तालिमका सहभागीहरु विभिन्न १० प्रकारका झोला बनाउन सक्षम भएका छन् ।
तालिम समापन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापामगर, समाजसेवी प्रमोदकुमार श्रेष्ठ, आदिवासी जनजाति महासंघ कोहलपुर नगर सभापति कृष्ण पुन, तालिमका प्रमुख प्रशिक्षक देवी पुन, सहभागीका तर्फबाट गोमा शेर्पा र सिमला श्रेष्ठ लगायतले बोलेका थिए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत पुष्करसिंह ठकुरीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन ममता थापाले गर्नुभएको थियो । सो क्रममा आदिवासी जनजाति महासंघ नेपागन्ज उपमहानगर अध्यक्ष भुमण्डल प्रकाश श्रेष्ठ, प्रमुख प्रशिक्षक देवी पुन लगायतलाई तालिम सञ्चालनमा गरेको योगदानको मुल्यांकन गर्दै कदरपत्र प्रदान गरिएको थियो । तालिममा ४० जना आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको थियो ।