
नेपालगन्ज, बाँके — बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा वडा सदस्य खाँलाई इलाका प्रहरी कार्यालय भगवानपुरले आज पक्राउ गरेको हो।
पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकमको माग गर्न गएकी थिइन्। तर, सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ।
उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ। “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बताउनुभएको छ।
पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टोलीले रियाजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि रियाजविरुद्ध दुर्व्यवहारसम्बन्धी मुद्धामा पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका रियाजको आज नै स्वास्थ्य परीक्षण (डक्टरी चेकजाँच) गराइएको छ भने भोलि म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। “सत्यतथ्यको आधारमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ,” प्रवक्ता पातलीले बताउनुभयाे ।