बर्दिया बढैयातालमा १६८ जनालाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान


गगा कुमारी पुन
नेपालगन्ज , असार १ । बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा शसक्त बालिका परियोजनाअन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न गरिएको छ ।
किशोर–किशोरी र युवा समुहलाई लक्षित गरी आयोजित उक्त शिविरको उद्देश्य पहुँचबाट टाढा रहेका, सीमान्तकृत र जोखिममा रहेका किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गर्नु रहेको थियो।
शिविरमा विशेषगरी विद्यालय बाहिर रहेका तथा संवेदनशील अवस्थाका युवाहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्घाटन बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी हुनुहुन्थ्यो भने स्वास्थ्य शाखा प्रमुख, वडा नं. ७ का वडा अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन एजीसी क्लबकी अध्यक्ष स्वस्तिका खड्काले गर्नुभएको थियो।
कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले परियोजनाको उद्देश्य प्रस्तुत गर्दै यस्तो किसिमको शिविरले किशोर–किशोरीहरूलाई आफ्ना समस्या खुलस्त राख्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सबै सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो।
शिविरमा १० देखि २४ वर्ष उमेर समूहका १६८ जना किशोर–किशोरीहरूले सेवा लिएका थिए। प्रदान गरिएका सेवाहरूमा गर्भनिरोधक तथा परिवार योजना परामर्श, सुरक्षित गर्भपतन परामर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, भिआईए परीक्षण, महिनावारी समस्या परामर्श, ओपीडी सेवा, ल्याब परीक्षण, मनोसामाजिक परामर्श तथा उच्च स्वास्थ्य संस्था रिफर सेवाहरू रहेका थिए।
स्वास्थ्य परीक्षण तथा परामर्श नेपालगञ्ज मेडिकल कलेज र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले गरेका थिए भने शिविरको व्यवस्थापन बाँके युनेस्को क्लबको टोलीले सम्हालेको थियो।
कार्यक्रम समापन गर्दै वडा अध्यक्ष तेजनाथ पौडेलले यस्तो महत्वपूर्ण शिविर आयोजना गरेकामा सम्बन्धित सबै संस्था तथा टोलीलाई आभार प्रकट गर्दै एजीसी समूहका सदस्यहरूलाई शिविरका विषयमा थप जागरूक गराउने विश्वास व्यक्त गर्नुभयो।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *