मो.मुबश्शिर कैयूम नेपालगञ्ज: बुधवार जेठ १४ गते
मुस्लिम समुदायको दोस्रो ठूलो धार्मिक पर्व ईद उल अदह (बकरा ईद) यस वर्ष जेठ २४ गते, शनिबार (इस्लामिक पात्रो अनुसार १० औं जिल्हिज्जा) मनाइने भएको छ। आज साँझ नेपालगञ्जमा चन्द्रमा देखिएपछि दरुल उलुम फैजुन नबी जमा मस्जिदले औपचारिक रूपमा यो घोषणा गरेको हो।

मस्जिदका प्रमुख धर्मगुरु मुफ्ती जाफर राजा मिसबहिले चन्द्रमा देखिएको पुष्टि गर्दै ईद उल अदहको चन्द्रमा देखिएको १० दिनपछि मनाइने पर्व भएकाले यस पटक जेठ २४ गते परेको जानकारी दिनुभयो।
उहाँले मुस्लिम समुदायलाई शान्तिपूर्ण रूपमा कुर्बानी गर्ने अपिल गर्नुका साथै केही महत्वपूर्ण कुराहरूमा ध्यान दिन आग्रह गर्नुभयो। मिसबहिले भन्नुभयो, “कुर्बानी गर्दा रगत र फोहोर सडकमा नफैलिने गरी सरसफाइमा ध्यान दिनु पर्नेछ। साथै, कुर्बानीको भिडियो र फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक नगर्नु उपयुक्त हुन्छ, जसले कसैको भावना नआहत होस्।”
कुर्बानीको मासु गरीब, नातेदार तथा छरछिमेकमा बाँडफाँड गर्नु इस्लाम धर्मको महत्त्वपूर्ण परम्परा भएको भन्दै उहाँले मानवता र सहअस्तित्वको सन्देश दिन सबै मुस्लिम समुदायलाई अनुरोध गर्नुभयो।

ईद उल अदह इब्राहिम (अलैहिस्सलाम) को समर्पण र त्यागको सम्झनामा मनाइने पर्व हो, जसमा विश्वास, भक्ति, तथा दानशीलता झल्किन्छ।