
मो. मुबश्शिर कैयूम नेपालगन्ज नेपालगन्ज:
आज मिति २०८२ चैत १५ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको विरोधमा बाँकेमा आज व्यापक प्रदर्शन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित विरोध कार्यक्रममा सहभागीहरूले ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।

विरोध कार्यक्रममा बाँकेमा रहेको नेकपा एमालेका केन्द्रीय कमिटीक सदस्यहरू, जिल्लाकमिटी, गाउँपालिका, नगर तथा वडा कमिटीका नेता–कार्यकर्ता, जनप्रतिनिधि र जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए।

बिहान ११ बजे नेपालगन्जस्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। सहभागीहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दै ओलीको बिना शर्त रिहाइको माग राखेका थिए र सम्बन्धित निकायलाई गम्भीर बन्न चेतावनी दिएका थिए।
आयोजकहरूले ओलीको रिहाइ नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन्। साथै, उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि यस्तो आन्दोलन आवश्यक भएको उल्लेख गरेका छन्।