
मो.मुबश्शिर कैयूम नेपालगन्ज: जेठ १५ गते नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीद्वारा १८ औँ गणतन्त्र दिवसको अवसरमा पुष्पलाल चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता एमाले नगर कमिटीका अध्यक्ष मोहित शाहले गरेका थिए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तिहाद संगठनका केन्द्रीय अध्यक्ष हारून हल्वाई, नेकपा एमाले केन्द्रीय सदस्य दीपा शर्मा, बाँके जिल्ला अध्यक्ष निरज गुरुङ तथा विभिन्न तह र तप्कामा आवद्ध पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
इत्तिहाद अध्यक्ष हारून हल्वाईले गणतन्त्र दिवसको शुभकामना दिंदै भने, “गणतन्त्र स्थापनाका लागि नेपाली जनताले ठूलो आहुति दिएका छन्। आजको नेपालमा गणतन्त्र बाहेक कुनै विकल्प छैन। गणतन्त्रको विकल्प फेरि गणतन्त्र नै हो।”

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दीपा शर्माले पार्टीले देशभरका सबै पालिकामा गणतन्त्र दिवस मनाउने निर्णय गरेअनुसार आज नेपालगन्जमा नगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको जानकारी दिइन्।
बाँके जिल्ला अध्यक्ष निरज गुरुङले भने, “गणतन्त्र दिवस नेपाली जनताले राष्ट्रिय सत्ता, मौलिक हक र लोकतान्त्रिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन हो। संविधानमार्फत नेपाली जनताले आफूले चाहेको सरकार छान्न पाउने अधिकार पाएका छन्, जुन गणतन्त्रको प्रमुख उपलब्धि हो।”
कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।