
मो.मुबश्शिर कैयूम नेपालगञ्ज, जेठ २४ – इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो धार्मिक पर्व ईद–उल–अजहा (बकरा ईद) को अवसरमा आज नेपालगञ्जस्थित बी.पी. चोकमा रहेको ईदगाहमा विशेष नमाज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

नमाज बिहान ७ बजे सुरु भई सम्पन्न भएको हो। जामा मस्जिदका प्रमुख धर्मगुरु मुफ्ती जाफर राजा मिसबहिले नमाज सुरु हुनुअघि कुर्बानीको महत्त्वबारे उपस्थित सबैलाई जानकारी गराउनुभयो। साथै, उहाँले देशमा शान्ति, एकता र समृद्धिको कामना गर्दै अल्लाहसँग प्रार्थना गर्नुभयो।

नमाजपछि उपस्थित हजारौँ मुस्लिम धर्मावलम्बीहरूले एक अर्कासँग अँगालो हाली ‘बकरा ईद मुबारक’ सन्देश आदान–प्रदान गरे। उत्सवको वातावरणमा भाईचारा, सद्भाव र हर्ष झल्किएको थियो।
नमाजमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तिहाद संगठनका अध्यक्ष माे.हारून हल्वाईले पनि उपस्थित जनसमुदायलाई ईदको शुभकामना दिँदै भन्नुभयो,
“नेपालगञ्ज सद्भाव र सहअस्तित्वको प्रतीक सहर हो। यहाँ मुस्लिम, हिन्दू, सिख, इसाई सबै समुदाय मिलेर बस्छौं। हामी सबैले एक–अर्काको चाडपर्वमा सहभागिता जनाउनुपर्छ।”

स्थानीय धार्मिक अगुवा, समुदायका प्रतिष्ठित व्यक्ति र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बकरा ईद पर्व त्याग, समर्पण र सहानुभूतिको प्रतीक हो, र नेपालगञ्जमा यस पर्वले धार्मिक सहिष्णुता तथा सामाजिक ऐक्यबद्धताको सन्देश फैलाएको देखिएको छ।