ठाकुरबाबामा वातावरण संरक्षणका लागि “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” अभियान

मो मोहसिन समिर
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ बर्दिया जिल्लामा प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसानल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेल, वडा अध्यक्ष टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायद्धारा बृक्षारोपण गरिएको थियो ।
सो अवसरमा बोल्दै ठाकुरबाबाका मेयर लम्सालले प्लाष्टिक प्रदूषणलाई यस युगको एक प्रमुख चुनौतीको रूपमा वर्णन गर्दै प्लाष्टिक सस्तो र सजिलो भए पनि यसको कुशल पुनः प्रयोग प्रविधिको अभावले यो पर्यावरणीय संकटमा परिणत भएको बताउनुभयो ।
उहाँले कागज वा कपडाका झोलाको प्रयोग जस्ता विकल्पहरू अपनाउन सबैलाई आग्रह गर्नुका साथै प्लाष्टिक प्रदूषण विरुद्ध साझा प्रयास र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुले प्लाष्टिक फोहोरको बढ्दो समस्यालाई सम्बोधन गर्नुपर्ने तत्काल आवश्यकता औँल्याउँदै प्लाष्टिक प्रदूषणले वन्यजन्तु तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँहरुले यस वर्षको अभियानले एकपटक प्रयोग गरिने प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोग तथा रिसाइक्लिङ अभ्यासलाई प्रवद्र्धन गर्ने र दीगो प्लास्टिक व्यवस्थापन नीतिहरू कार्यान्वयन गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।
विश्व वातावरण दिवस २०२५ ले सबै व्यक्ति, समुदाय तथा सरकारहरूलाई एकजुट भई स्वच्छ, स्वस्थ र दीगो निति तथा कार्यक्रम निर्माणकालागि निर्णायक कदम चाल्न प्रेरणा प्रदान गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *