डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता” विषयक दुईदिने तालिम सम्पन्न

मो. मुबश्शिर कैयूम, नेपालगञ्ज, जेठ २९:
नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित “डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता” विषयक दुईदिने अभिमुखीकरण तालिम बिहीबार सम्पन्न भएको छ।

तालिममा बाँके जिल्लाका पत्रकार, सम्पादक, सञ्चारकर्मी तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई डिजिटल पत्रकारिताको वर्तमान अभ्यास, जिम्मेवार रिपोर्टिङ, आचारसंहिताको पालना, नक्कली समाचार (फेक न्यूज) को पहिचान, र सामाजिक सञ्जालमा देखिएका चुनौतीहरूबारे जानकारी प्रदान गरियो।

तालिममा सञ्चार क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका विज्ञ तथा प्रशिक्षकहरूले डिजिटल मिडिया प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, तथ्यपरक र मर्यादित समाचार लेखनका तरिका, र पेशागत उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएका थिए।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले तालिमले सञ्चारकर्मीहरूलाई थप सशक्त, जिम्मेवार र नैतिक पत्रकारितातर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे। सहभागीहरूले तालिमबाट डिजिटल युगसँगै बदलिँदो पत्रकारिता अभ्यासका लागि आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक संस्थाले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको जनाएको छ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *