सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लास्थित आलिताल गाउँपालिकामा आयोजित राष्ट्रिय हाप्किडो कौशल अभिवृद्धि सेमिनार आज दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ । सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजनामा, नेपाल हाप्किडो संघको स्वीकृतिमा तथा आलिताल गाउँपालिकाको व्यवस्थापनमा सुरु भएको सेमिनारमा देशका विभिन्न जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

सेमिनारको दोस्रो दिन सहभागी खेलाडीहरूको तह र ग्रेड अनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सहभागीहरूलाई समूहगत रूपमा विभाजन गरी हाप्किडोका आधारभूत देखि उन्नत प्रविधिसम्मको व्यावहारिक अभ्यास गराइएको छ । प्रशिक्षणका क्रममा आत्मरक्षा सीप, शारीरिक सन्तुलन, गति र नियन्त्रण, खेल अनुशासन तथा सुरक्षा सम्बन्धी मापदण्डमा विशेष ध्यान दिइएको छ ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । प्रशिक्षकहरूले हाप्किडो खेलको अन्तर्राष्ट्रिय अभ्यास, आधुनिक प्रविधि तथा प्रतिस्पर्धात्मक तयारी सम्बन्धी विषयमा प्रशिक्षण दिएका छन् । साथै, खेलाडीहरूको कमजोरी पहिचान गरी सुधारका उपायहरू प्रशिक्षण दिएका छन् ।

सेमिनार अन्तर्गत रेफ्री तथा प्रशिक्षक लक्षित विशेष सत्र समेत सञ्चालन भएको छ । उक्त सत्रमा खेल नियम, निर्णय प्रक्रियाको निष्पक्षता, खेल सञ्चालनका प्राविधिक पक्ष र नेतृत्व क्षमताको विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । आयोजकका अनुसार यस प्रकारको कार्यक्रमले आगामी दिनमा हुने प्रतियोगिताका लागि दक्ष रेफ्री र प्रशिक्षक उत्पादन गर्न सहयोग पुग्नेछ ।
आलिताल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको हाप्किडो सेमिनार आयोजना भएकाले स्थानीय खेलप्रेमी युवाहरूमा उत्साह देखिएको छ । स्थानीय तहमा खेलकुद गतिविधि विस्तार गर्ने, ग्रामीण क्षेत्रका प्रतिभाको पहिचान गर्ने तथा उनीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आयोजकले बताएका छन् ।
आयोजकको अनुसार सेमिनारले सुदूरपश्चिम प्रदेशमा हाप्किडो खेलको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । खेलकुद मार्फत युवालाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउने लक्ष्य लिइएको उनीहरूले बताएका छन् । सेमिनार भोली सम्म निरन्तर सञ्चालन हुने बताएका छन् ।