Noor Mohammad Ansari
दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार विभिन्न स्थानमा भएका आक्रमणमा सर्वसाधारण नागरिकहरू मारिएका हुन्।
नबातिएह क्षेत्रको अल-राहिबात इलाकामा इजरायली युद्धक विमानले एउटा घरमा बम प्रहार गर्दा एक बालकसहित ६ जनाको मृत्यु भएको बताइएको छ। त्यस्तै दक्षिणी सहर बिन्त ज्बेल मा भएको अर्को आक्रमणमा ३ जनाको ज्यान गएको छ। साथै समुद्री किनारको शहर घाजियेह मा भवनमाथि गरिएको आक्रमणमा २ बालबालिकाको मृत्यु भएको जनाइएको छ।
यसैबीच, इजरायली गोलाबारी संयुक्त राष्ट्रसंघको शान्ति सेनाको आधार शिविर रहेको स्थानमा पनि परेको छ। दक्षिणी लेबनानको माइस अल-जबल गाउँमा रहेको नेपाली बटालियनको UNIFIL मुख्यालय परिसरभित्र गोलाहरू खसेका हुन्।
बेइरुतस्थित नेपालको मानार्थ वाणिज्य दूतावासले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य जारी गरेको छ। घटनामा नेपाली सैनिकहरू भने सुरक्षित रहेको जनाइएको छ। तर संयुक्त राष्ट्रसंघको शान्ति मिसनको आधार क्षेत्रमा आक्रमण हुनु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताइएको छ।
इजरायल र हिज्बुल्लाहबीच जारी संघर्षका कारण दक्षिण लेबनानमा पछिल्ला दिनहरूमा लगातार हवाई आक्रमण र गोलाबारी भइरहेको छ, जसले क्षेत्रको मानवीय अवस्था झन् जटिल बनाउँदै लगेको छ।