मुस्लिम लाई समानुपातिक र समावेशीको नाममा प्रयोग मात्रै

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदवारको अन्तिम सिफारिसमा मुस्लिम समुदायबाट नसमेटिएको भन्दै नेपालगन्जमा आपत्ति जनाइएको छ । ‘नौ सिट समानुपातिकमा एउटा पनि मुस्लिम कलष्टरबाट सिफारिस गर्न नसक्नु पार्टी प्रति घोर आपत्ति जनाउन चाहन्छु’, समानुपातिक उम्मेदवार जामिया खातुनले आइतबार साँझ आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेकी छिन्, ‘हामीलाई भोट बैंक मात्रै बनाएको हो पार्टीले ।’ समानुपातिक र समावेशीको नाममा प्रयोग मात्रै गरेको आरोप उनले लगाएकी छिन् ।

नेकपाकै बाँकेबाट अर्की समानुपातिक उम्मेदवार कस्मिरा खातुनले पनि सिफारिसलाई लिएर आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै व्यक्त गरेकी छिन् । ‘नेपाली कम्युनिष्ट पार्टीमा नौ सिट समानुपातिक आउँदा मुस्लिम शुन्य, के हामी मुस्लिमहरू झोला बोकेर भोट बैंक मात्रै हुने हो त ?’, उनले सामाजिक सञ्जालमा गरेको पोष्टमा कमेन्ट गर्दै नेकपा निकट प्रेस सेन्टरका केन्द्रीय नेता सिराज खान भन्छन्, ‘राप्रपा भन्दा पनि खत्तम ।’ समानुपातिकमा चार सिट जितेको हिन्दुवादी पार्टी राप्रपाले मुस्लिम प्रतिनिधिलाई सांसद सुनिश्चित गरेको छ ।

दुवै जनता उम्मेदवारको तिव्र असन्तुष्टि सामाजिक सञ्जाल मार्फत पोखिएपछि आएको प्रतिक्रियालाई सम्हाल्दै बाँके निर्वाचन क्षेत्र नं. २ मा नेकपाका प्रत्यक्ष उम्मेदवार दिपेन्द्र विष्टले भनेका छन्, ‘नेपालको वर्तमान समानुपातिक निर्वाचन प्रणालीमा कुन समुदायको प्रतिनिधित्व कति हुन्छ भन्ने कुरा स्पष्ट रूपमा गणितीय मतभारमा आधारित हुन्छ ।’

विष्टले विभिन्न तथ्य र प्राविधिक पक्षलाई अघि सार्दै भनेका छन्, ‘हालैका तथ्याङ्क र प्रवृत्तिलाई हेर्दा केही महत्वपूर्ण विषयहरूमा ध्यान दिनु जरुरी देखिन्छ ।’

‘​मतको गणित र सिट संख्या नेपाली कम्युनिष्ट पार्टीले मुस्लिम समुदायबाट प्राप्त भएको कुल मतको अनुपात गणना गर्दा ०.४५ जस्तो न्यून अंक आउँछ भने, प्राविधिक रूपमा त्यसलाई पूर्ण सिटमा रूपान्तरण गर्न कानुनी र गणितीय चुनौती हुन्छ’, युवा नेता विष्टले ​अधिकार र कर्तव्यको सन्तुलनबारे प्रष्ट पार्दै भनेका छन्, ‘हामीले कुनै पनि पार्टी प्रणालीमाथि प्रश्न उठाउनु र कटाक्ष गर्नुभन्दा पहिले, हाम्रो सामूहिक मतले कुन शक्तिलाई बलियो बनाइरहेको छ भन्ने सोच्न आवश्यक छ !’

‘मत दिएर आफ्नो शक्ति प्रदर्शन गरेपछि मात्र सम्बन्धित दलसँग अधिकार खोज्ने नैतिक बल प्राप्त हुन्छ । मत नै नदिई वा पर्याप्त मतभार नपु¥याई गरिने कटाक्षले राजनीतिक रूपमा ठोस नतिजा ल्याउन कठिन हुन्छ ।’, उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘​राजनीतिमा गणितको ठूलो महत्व हुन्छ । जबसम्म हाम्रो मतको संख्याले एउटा निश्चित थ्रेसहोल्ड वा सिट संख्या सुनिश्चित गर्दैन तबसम्म प्रतिनिधित्वको माग कमजोर रहन सक्छ ।’ विष्टले आफ्ना असन्तुष्ट उम्मेदवार लक्षित हुँदै भनेका छन्, ‘त्यसैले मुस्लिम समुदायले आफ्नो संगठित मतको शक्तिलाई पहिचान गर्न र सही ठाउँमा उपयोग गर्न आवश्यक छ । मतको सही लगानी गरेपछि मात्रै हामीले पार्टीलाई समावेशिताको ऐना देखाउन सक्छौँ ।’

नेकपाले मुस्लिम बहुल बाँके निर्वाचन क्षेत्र नं. २ बाट ३ हजार १ सय ६५ मत प्राप्त गरेको थियो भने प्रत्यक्ष तर्फ विष्टले १ हजार ४ सय ५६ मत प्राप्त गरेका थिए ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *