

बाँकेको खजुरा गाउँपालिका–२ मा स्थापना गरिएको “खजुरा बाल संरक्षण गृह” को उद्घाटन समारोह भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । नेपाल युवा क्लब बाँकेद्वारा सञ्चालित उक्त संरक्षण गृहको औपचारिक उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि क ‘तुफान’ ज्यूले गर्नु भएको थियो ।
कार्यक्रमको सभाध्यक्षता नेपाल युवा क्लब बाँकेका केन्द्रीय अध्यक्ष मो. मोहसिन हलवाई ‘समीर’ ज्यूले गर्नु भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खजुरा गाउँपालिका उपाध्यक्ष तथा प्रशासकीय प्रमुख दिल बहादुर पौडेल ज्यूको विशेष उपस्थिति रहेको थियो ।


त्यसैगरी कार्यक्रममा वडा नं. २ का अध्यक्ष लगायत विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले अनाथ, असहाय तथा संरक्षण आवश्यक भएका बालबालिकाको सुरक्षित भविष्य निर्माणमा “खजुरा बाल संरक्षण गृह” ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा पालनपोषणलाई प्राथमिकतामा राखेर संस्थाले सामाजिक सेवामूलक अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


कार्यक्रम उत्साह, सम्मान र सामाजिक एकताको वातावरणमा सम्पन्न भएको थियो । उपस्थित अतिथिहरूले नेपाल युवा क्लब बाँकेको सामाजिक कार्यको खुलेर प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव, अतिथिगण, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

