
नेपालगञ्जस्थित संगालो रेस्टुरेन्ट हलमा आयोजित “3rd National Professional Hapkido Championship 2026” भव्य रूपमा सम्पन्न भएको छ। नेपाल हाप्किडो संघ तथा बाँके जिल्ला हाप्किडो संघको आयोजनामा जेठ २२ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोह विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो।
समापन समारोहको सभाध्यक्षता गंगा कुमारी पुन मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष ग्राण्ड मास्टर काली बहादुर घर्ती मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय उपमहासचिव मो. मोहसिन हलवाई, नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्का लगायत खेलकुद, सामाजिक तथा सुरक्षाक्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न प्रदेशबाट आएका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय तथा मधेश प्रदेश तृतीय हुन सफल भएका छन्। विजेता टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि मो. इस्तियाक अहमद शाहले हाप्किडो खेलले युवाहरूमा अनुशासन, आत्मविश्वास तथा आत्मरक्षाको भावना विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले राष्ट्रिय खेलकुद क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी ग्राण्ड मास्टर काली बहादुर घर्ती मगरले नेपालमा हाप्किडो खेलको विकास र विस्तारका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। आयोजक संस्थाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अतिथि, सुरक्षाकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गरेको थियो।