
बैशाख -१७ गते नेपालगन्ज
मो मोहसिन हल्वाई (समीर)
बाँके जिल्ला हाप्किडो संघको दोस्रो अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशन नेपालगन्ज उपमहानगरपालिका ५ का वडाध्यक्ष सराफत शेषको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पत्रकार सेराज खान, अतिथि समीर अली तथा नेपाल हाप्किडो संघका उपमहासचिव तथा बाँके जिल्ला हाप्किडो संघका अध्यक्ष मोहसिन समिर हल्वाईको सभापतित्वमा अधिवेशन सञ्चालन गरिएको थियो ।
उक्त अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ, जसले बाके जिल्लामा हाप्किडो खेलको समुन्नत प्रवर्द्धन तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अध्यक्ष पदमा गंगा कुमारी पुन मगर सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको छ । हाप्किडो खेल क्षेत्रमा लामो समयदेखि समर्पित पुन मगरले संघको कार्यगत दक्षता अभिवृद्धि गर्दै जिल्लामा हाप्किडो खेललाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै, उपाध्यक्ष पदमा सुहेल सल्मानी र रोशनी अधिकारी निर्वाचित हुनु भएको छ । सचिव पदमा कृती के.सी., सहसचिव पदमा साबान हल्वाई तथा कोषाध्यक्ष पदमा बिना के.सी. निर्वाचित हुनु भएको छ ।
सदस्य पदमा दिनेश ठाकुर, मुबशिर कयुम, सलमान खान, बिनिता के.सी., प्रमित कौर, श्री जीवन सुनार र जतिन बाल्मिकी निर्वाचित हुनु भएको छ । नव निर्वाचित सम्पूर्ण कार्यसमितिले हाप्किडो खेललाई जिल्लाभर सर्वसुलभ बनाउने र संघको संस्थागत सुदृढीकरण गर्ने लक्ष्य लिएको छ ।
नयाँ कार्यसमितिले विद्यालयस्तरदेखि समुदायस्तरसम्म हाप्किडो खेलको पहुँच विस्तार गर्ने, खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा बाके जिल्लाको सहभागिता सुनिश्चित गर्ने कार्ययोजना अघि सारेको छ ।
स्वास्थ्य, अनुशासन, आत्मरक्षा र सामाजिक सद्भाव प्रवर्द्धनका लागि हाप्किडोलाई प्रभावकारी माध्यम बनाउँदै दीर्घकालीन योजना कार्यान्वयन गरिनेछ ।
यस अधिवेशनले न केवल बाके जिल्लामा, तर समग्र नेपालमा हाप्किडो खेलको विकास र विस्तारमा नयाँ उत्साह र ऊर्जा थपेको छ । नवगठित नेतृत्वको सक्रियता, स्पष्ट कार्यदिशा तथा सामूहिक प्रतिबद्धताबाट आगामी दिनहरूमा उल्लेखनीय उपलब्धिहरू हासिल हुने पूर्ण विश्वास गरिएको छ ।
संघका संरक्षक, प्रशिक्षक, खेलाडी, अभिभावक तथा सरोकारवालाहरूको निरन्तर सहयोग र समर्थनले बाके जिल्लामा हाप्किडो खेल अनुशासित, पेशागत र लोकप्रिय खेलको रूपमा स्थापित हुने विश्वास लिइएको छ ।