मो.मुबश्शिर कैयूम नेपालगन्ज : २०८२ जेठ ३ — इस्लाम धर्मावलम्बीहरूको पवित्र धार्मिक यात्रा हजका लागि बाँके जिल्लाबाट १३४ जना हाजीहरू साउदी अरेबियातर्फ प्रस्थान गर्दैछन्। वर्ष २०२५ (इस्लामी सन् १४४६ हिजरी) को हज यात्राका लागि बाँके जिल्लाबाट चयन भएका ती हाजीहरू सम्पूर्ण धार्मिक प्रक्रिया तथा सरकारी व्यवस्थापन अनुसार निर्धारित तालिकामा यात्रा आरम्भ गर्दैछन्।

प्रस्थानअघि बाँकेका विभिन्न ठाउँमा हाजिहरूको बिदाइ कार्यक्रमहरू आयोजना गरिएको थियो। ती कार्यक्रमहरूमा धार्मिक अगुवा, सामाजिक अभियन्ता, स्थानीयवासी तथा आफन्तजनहरूले सहभागी भएर हाजिहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गरे।
हज इस्लाम धर्मको पाँच आधारमध्ये एक महत्वपूर्ण कर्तव्य हो, जुन आर्थिक तथा शारीरिक रूपमा सक्षम मुस्लिमहरूले जीवनमा कम्तीमा एकपटक गर्नुपर्ने मानिन्छ।
नेपाल हज समिति तथा सम्बन्धित निकायहरूको सहकार्यमा हाजीहरूको आवास, यातायात तथा अन्य व्यवस्थापन गरिएको छ। बाँके जिल्लाका यी १३४ जना हाजिहरूलाई नेपाल सरकारमार्फत काठमाण्डौंदेखि मक्का-मदीना पुर्याइने छ।
संपूर्ण हाजिहरूको यात्रा सफल, सुरक्षित र आध्यात्मिक रुपमा फलदायी रहोस् भन्ने कामनासहित बाँके जिल्ला बिदाइ भइरहेको छ।