
काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा कमीका कारण उत्पन्न हुन सक्ने समस्या व्यवस्थापन गर्न सरकारले महत्वपूर्ण निर्णय गरेको छ। आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि सरकारी कार्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो व्यवस्था सोमबार (चैत २३)देखि लागू हुने जनाइएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, सरकारी कार्यालयसँगै सम्पूर्ण शैक्षिक संस्थामा पनि सातामा दुई दिन बिदा लागू हुनेछ।
त्यसैगरी, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय पनि गरिएको छ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने तथा आपूर्ति सन्तुलनमा राख्ने उद्देश्यले यस्तो निर्णय लिएको जनाएको छ।