आलितालमा राष्ट्रिय हाप्किडो कौशल अभिवृद्धि सेमिनार २०८२ सुरु

डडेलधुरा । सुदूरपश्चिम प्रदेशको आलिताल गाउँपालिका, डडेलधुरामा राष्ट्रिय हाप्किडो कौशल अभिवृद्धि सेमिनार २०८२ को औपचारिक उद्घाटन सम्पन्न भएको छ । सेमिनार २०८२ पौष १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजनामा, नेपाल हाप्किडो संघको स्वीकृतिमा तथा आलिताल गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन भएको उक्त सेमिनारको उद्घाटन आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले खेलकुदलाई समाज रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै हाप्किडो जस्ता अनुशासित खेलले युवामा आत्मनियन्त्रण, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताए । उनले स्थानीय सरकार खेलकुद विकासमा सहकार्य र सहयोगका लागि सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दै राष्ट्रियस्तरका कार्यक्रमले गाउँपालिकालाई चिनाउने र युवालाई सही बाटोमा अग्रसर गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि काली बहादुर घर्ती मगरले हाप्किडो खेललाई केवल आत्मरक्षाको माध्यम मात्र नभई शरीर र मन दुवैको विकासमा महत्वपूर्ण भूमिका खेल्ने खेलको रूपमा मूल्याङ्कन गर्दै सेमिनार सफल र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले हाप्किडो खेल मार्फत युवामा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास हुने बताए, भने यसले स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको स्तर उकास्न पनि सहयोग पुग्ने धारणा राखे । साथै, सहभागीहरूले प्रशिक्षणमा सक्रियतापूर्वक भाग लिएर सीप र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका राजेन्द्र मडै सुदूरपश्चिम प्रदेशमा हाप्किडोको विकास र विस्तारका लागि संघ निरन्तर क्रियाशील रहने बताए । उनले प्रशिक्षक, रेफ्री र खेलाडीहरूको क्षमता अभिवृद्धि नै सेमिनारको मुख्य उद्देश्य रहेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रबिण गुरुङले स्वागत मन्तव्य राख्दै हाप्किडो खेल मार्फत अनुशासन, आत्मरक्षा र नेतृत्व विकासमा यस्ता सेमिनारहरूको ठूलो महत्व रहेको बताए । उनले सहभागीहरूलाई सेमिनारबाट अधिकतम ज्ञान र सीप हासिल गर्न आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मो मोहसिन हल्वाई समिरले हाप्किडो खेलको अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डबारे चर्चा गर्दै प्रशिक्षक र रेफ्रीहरूको दक्षता अभिवृद्धि आवश्यक रहेको बताए ।

उक्त उद्घाटन कार्यक्रममा आलिताल गाउँपालिकाका पूर्व उपाध्यक्ष ज्वाला कुमारी बोगटी, विभिन्न वडाका वडा अध्यक्षहरू, प्रहरी प्रशासनका प्रतिनिधि, पत्रकार, विभिन्न विद्यालयका प्राध्यापकहरू, खेलप्रेमी तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

तीन दिनसम्म चल्ने सेमिनारमा ग्राण्डमास्टर काली बहादुर घर्ती मगर, नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक प्रविण गुरुङ र मास्टर राजेन्द्र मडैले प्रशिक्षण दिनेछन् । आयोजकले बताए अनुसार, यस सेमिनारको मुख्य उद्देश्य हाप्किडो खेलका रेफ्री, प्रशिक्षक र खेलाडीहरूको सीप अभिवृद्धि, प्राविधिक दक्षता र नेतृत्व क्षमता विकास गर्नु हो ।
सेमिनारमा करिब १,००० जना प्रशिक्षक तथा खेलाडी सहभागी रहेका छन् ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *