मो. मुबश्शिर कैयूम नेपालगञ्ज:
मुस्लिम समुदायका चर्चित अगुवा तथा नेकपा एमालेका प्रभावशाली नेता मोहम्मद हारुन् हलवाई नेकपा एमालेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार गरिएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन्। निर्वाचन आयोगमा पेश गरिएको बन्दसूचीअनुसार हारुन् हलवाईलाई मुस्लिम पुरुष समूहबाट पहिलो प्राथमिकतामा राखिएको छ।

लामो समयदेखि राजनीति, सामाजिक सेवा र समावेशी अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएका हारुन् हलवाईलाई पार्टीले उच्च प्राथमिकतामा राखेपछि मुस्लिम समुदायमा उत्साह र खुसीको माहोल देखिएको छ। बाँकेसहित तराई–मधेशका विभिन्न जिल्लामा रहेका मुस्लिम अगुवा, समाजसेवी, बुद्धिजीवी तथा आम नागरिकले एमालेको यस निर्णयलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

बाँकेका स्थानीय बासिन्दाहरूले एमालेले मुस्लिम समुदायको प्रतिनिधित्वलाई सम्मान दिएको भन्दै पार्टी नेतृत्वको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, हारुन् हलवाई मुस्लिम समुदायका सवालहरू राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमतावान नेता हुन्, र उनलाई बन्दसूचीको पहिलो स्थानमा राखिनुले राम्रो सन्देश दिएको छ।
राजनीतिक जानकारहरूका भनाइमा नेकपा एमालेले समानुपातिक प्रणालीमार्फत जाति, समुदाय, लिङ्ग र क्षेत्रगत सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ। मुस्लिम समुदायको प्रतिनिधित्वका लागि हारुन् हल्लवाइलाई पहिलो नम्बरमा समावेश गर्नु पार्टीको समावेशी राजनीतिक सोचको उदाहरण भएको उनीहरूको विश्लेषण छ।
यस विषयमा प्रतिक्रिया दिँदै हारुन् हलवाईलाई पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले मुस्लिम समुदायका हक–अधिकार, सामाजिक न्याय र राष्ट्रिय हितका विषयमा संसदमा जिम्मेवार र सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
उनले भने, यो अवसर मेरो व्यक्तिगत सफलताभन्दा पनि सिंगो मुस्लिम समुदायप्रति व्यक्त गरिएको विश्वास र सम्मान हो।
एमालेको यस निर्णयले आगामी निर्वाचनमा मुस्लिम समुदायको समर्थन अझ सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, समावेशी लोकतन्त्र र प्रतिनिधित्वको अभ्यासलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।