
नेपालगञ्ज, बाँके — बाँके जिल्ला हाप्किडो संघको आयोजनामा हुने “3rd Professional Hapkido National Championship 2026” सम्बन्धी प्रेस मिट कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगिताको तयारी, उद्देश्य तथा सञ्चालन सम्बन्धी जानकारी सार्वजनिक गरिएको थियो।
आगामी जेठ २२ देखि २४ गते २०८३ (५–७ जुन २०२६) सम्म नेपालगञ्ज सिटी हल, नेपालगञ्ज–१४ बाँकेमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताले नेपाली हाप्किडो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवामा अनुशासन र आत्मरक्षाको भावना विकास गर्ने अपेक्षा गरिएको छ।
प्रेस मिट कार्यक्रम २०८३ साल जेठ २० गते बुधवार नेपालगञ्जको सांग्रिला रेष्टुरेन्ट, कारकाँदोमा सम्पन्न भएको थियो। कार्यक्रममा आयोजक संस्था, प्रशिक्षक, खेलाडी, पत्रकार तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
बाँके जिल्ला हाप्किडो संघका पदाधिकारीहरूले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण खेलप्रेमी, सञ्चारकर्मी तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्। नेपालमा हाप्किडो खेलको विस्तार र युवामाझ यसको आकर्षण पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको नेपाल हाप्किडो संघ जिल्ला बाँकेकि अध्यक्ष गगा कुमारी पुनको भनाइ छ।
प्रतियोगितामा विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा हुने बताइएको छ भने उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई विशेष पुरस्कार प्रदान गरिनेछ। राष्ट्रियस्तरको यस प्रतियोगिताले बाँके जिल्लालाई खेलकुद पर्यटन र राष्ट्रिय खेल गतिविधिको केन्द्रका रूपमा थप चिनाउने विश्वास लिइएको छ।