पुरातन सोचसँग जुधेकी युवतीको संघर्षलाई पर्दामा उतार्दै ‘गौँथली’

लक्ष्मी तिमिल्सिना
नेपालगन्ज, असार २१

आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र गौँथलीको निर्माण टिमले प्रचार–प्रसार अभियानअन्तर्गत नेपालगन्जमा पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ। चलचित्र पत्रकार सङ्घ बाँके शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रको विषयवस्तु, उद्देश्य, सामाजिक सन्देश तथा नेपाली चलचित्र उद्योगको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक डा. कपिल रिजालले गौँथली मनोरञ्जन मात्र नभई समाजलाई सोच्न बाध्य बनाउने चलचित्र भएको बताउनुभयो। उहाँका अनुसार चलचित्रले शिक्षा हासिल गर्ने यात्रामा अनेकौं सामाजिक अवरोध झेलेकी एक युवतीको संघर्ष र विवाहपछिको जीवनमा सामना गर्नुपर्ने अप्रत्याशित परिस्थितिलाई यथार्थपरक ढंगले चित्रण गरेको छ।

“चलचित्र केवल मनोरञ्जनको माध्यम होइन, समाज परिवर्तनको शक्तिशाली साधन पनि हो निर्देशक रिजालले भन्नुभयो दर्शकले गौँथली हेरेर केवल कथा मात्र होइन, आफ्नो सोच र व्यवहारमाथि पनि आत्ममूल्यांकन गर्ने अवसर पाउनुहुनेछ। हामीले व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने प्रयास गरेका छौं।

चलचित्रका निर्माता सुमन गिरीले नेपाली चलचित्र उद्योग अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै गुणस्तरीय कथा, आधुनिक प्रविधि र सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट मात्रै दर्शकको विश्वास पुनः जित्न सकिने धारणा राख्नुभयो।

“हामीले यो चलचित्र व्यापारिक लाभका लागि मात्र बनाएका होइनौं, उहाँले भन्नुभयो, कथाको गहिराइ र समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले ‘गौँथली’ निर्माण गरेका हौं।”

मुख्य अभिनेता अरुण क्षेत्रीले चलचित्रले पुरातन सोच र सामाजिक विभेदसँग संघर्ष गरिरहेकी युवतीको जीवनका साथै शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिप्रति समाजले गर्ने व्यवहारलाई संवेदनशील रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँका अनुसार चलचित्रले समाजमा समानता, सम्मान र मानवीय संवेदनाको सन्देश प्रवाह गर्ने प्रयास गरेको छ।

चलचित्र पत्रकार सङ्घ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिनेत्री सिम्रन खड्का, निर्देशक डा. कपिल रिजाल, निर्माता सुमन गिरी, मुख्य सहायक निर्देशक गिरिराज घिमिरे, याङ्गो हल चितवनका सञ्चालक शिव उप्रेती, चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान उपाध्यक्ष सुरक्षा भट्टराई लगायत चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गौँथलीमा अरुण क्षेत्रीसिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनाराजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओलीप्रिन्स नेपालीले पनि प्रभावशाली भूमिका निर्वाह गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपालगिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो। भोला रिजाल प्रोडक्सनसुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ भने निर्माता सुमन गिरीडा. कपिल रिजाल रहनुभएको छ। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजालजीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतमप्रशान्त सिवाकोटीको संगीत तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ।

उल्लेखनीय रूपमा, करिब दुई दशकअघि डा. भोला रिजालले निर्माण गर्नुभएको ‘गौँथली’लाई नेपालको पहिलो **गीति चलचित्र (म्युजिकल फिल्म)**का रूपमा चिनिन्छ। उक्त चलचित्रले प्रदर्शनको ५१ दिन सफलतापूर्वक प्रदर्शन भएर नेपाली चलचित्र इतिहासमा विशेष स्थान बनाउन सफल भएको थियो। नयाँ संस्करणको ‘गौँथली’ले पनि त्यही विरासतलाई आधुनिक प्रस्तुति र समसामयिक सामाजिक सन्देशसहित निरन्तरता दिने निर्माण टिमको विश्वास रहेको छ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *